सहकारी ठगीको आरोपमा हाल नख्खु कारागारमा रहेका लामिछानेको विषयमा बोल्दै शाहीले एक टेलिभिजन अन्तर्वार्तामा भने, “उहाँ दोषी वा निर्दोष भन्ने कुरा भोलि अदालतले फैसला गर्ला। तर थुनेर अनुसन्धान गर्नुभन्दा बाहिर राखेर अनुसन्धान गर्नु पर्ने हो।”
शाहीले लामो समयदेखि लामिछानेको पक्षमा सकारात्मक रूपमा बोल्दै आएका छन्। यसअघि उनले तत्कालीन सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै उनको पक्षमा आवाज उठाएका थिए। रास्वपाका कार्यकर्ताहरूले पनि अघिल्लो सरकारले प्रतिशोध साँधेको भए पनि अहिलेको सरकारले न्याय दिने आशा व्यक्त गर्दै आएका छन्।
रवि लामिछाने हाल सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका छन्। यसअघि भैरहवा कारागारमा रहँदा मानवअधिकार हनन भएको र पूर्व गृहमन्त्रीको हैसियतले न्यूनतम सुविधा नपाएको भन्दै उहाँलाई नख्खु सारिएको थियो।
लामिछानेको अडान: लामिछानेले आफूलाई थुना बाहिरै रहँदै मुद्दा लड्न पाउनुपर्ने माग राख्दै आएका छन्, जसमा रास्वपाले पनि सरकारको भूमिकाबारे प्रश्न उठाउँदै आएको छ।लामिछानेसम्बन्धी मुद्दाको पेसी लगातार स्थगित भइरहेको छ।
'जेन–जेड आन्दोलन' र विधिको शासनप्रतिको प्रतिबद्धता
गत भदौ २४ गते 'जेन–जेड आन्दोलन' उत्कर्षमा पुगेको दिन समर्थकहरूले लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका थिए। तर, अदालतको आदेशबिनै आन्दोलनको फाइदा उठाएर बाहिरिएको भन्दै व्यापक आलोचना भएपछि उनी भदौ २८ गते फेरि अदालतमा उपस्थित भएका थिए।
कारागार फर्किनुअघि उनले आफू लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध राजनीतिकर्मी भएको र त्यसमा सम्झौता नगर्ने भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देशसहित एक टिप्पणी पोस्ट गरेका थिए।