न्युजिल्यान्डका पूर्वकप्तान रस टेलर सन्न्यास फिर्ता, सामोआबाट टी–२० खेल्ने

काठमाडौँ – न्युजिल्यान्डका पूर्वकप्तान रस टेलरले सन्न्यास फिर्ता लिएर सामोआको राष्ट्रिय टोलीबाट खेल्ने घोषणा गरेका छन्।

आउँदो आईसीसी टी–२० विश्वकप एशिया–पूर्वी एशिया प्यासिफिक छनोटमा सामोआको प्रतिनिधित्व गर्न ४१ वर्षीय मध्यक्रम ब्याटर टेलर सामाजिक सञ्जालमार्फत फिर्तीको घोषणा गरेका हुन्। टोलीमा कालेब जसमतको नेतृत्वमा उनलाई समावेश गरिएको छ।

टेलरकी आमा सामोआ मूलकी भएकाले उनीसँग सामोआको नागरिकता छ। उनले सन् २०२२ अप्रिलमा अन्तिम पटक न्युजिल्यान्डका लागि खेलेका थिए र अब ३ वर्षे ‘कुलिङ अफ पिरियड’ पूरा भइसकेको छ।

सन् २००६ देखि २०२२ सम्म न्युजिल्यान्डका लागि खेल्दा उनले १ सय १२ टेस्टमा ७,६८३, २ सय ३६ एकदिवसीयमा ८,६०७ र १ सय २ टी–२० मा १,९०९ रन बनाएका थिए।

त्यसैगरी, न्युजिल्यान्डका ३२ वर्षीय शन सोलियान पनि सामोआबाट खेल्नका लागि टोलीमा समावेश भएका छन्।