इजरायलमा सत्ता परिवर्तनको दबाब, अरब दलको समर्थन खोज्दै विपक्षी

इजरायलमा नयाँ सरकार गठनलाई लिएर राजनीतिक गतिरोध चुलिँदै जाँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध जनदबाब बढ्न थालेको छ। अरब दलहरूलाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्नुपर्ने माग गर्दै हजारौँ नागरिक सडकमा उत्रिएका छन्।

शनिबार साँझ तेल अभिभ, जेरुसेलम, हाइफा र बेरशेबालगायत प्रमुख सहरमा विशाल प्रदर्शन भएको हो। तेल अभिभस्थित हबिमा स्क्वायरमा भेला भएका करिब दुई हजार प्रदर्शनकारीले यहूदी र अरब समुदायबीच सहकार्य, समानता र शान्तिको पक्षमा नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले 'साझेदारी र समानताबाट सरकार परिवर्तन गर्छौँ' तथा 'परिवर्तनका लागि बहुमत छ' लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै अरब दललाई समेटेर नयाँ सरकार गठन गर्न माग गरेका थिए।

यसैबीच, प्रधानमन्त्री नेतान्याहूका समर्थकहरूले पनि प्रतिप्रदर्शन गरेका छन्। हबिमा स्क्वायरमै भेला भएका करिब दुई सय समर्थकले अरब दलहरूले चुनावी जनादेश चोरेको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका थिए। प्रदर्शनका क्रममा केही युवाले अरब समुदायलाई लक्षित गर्दै जातिवादी नारासमेत लगाएका थिए।

गत मंगलबार सम्पन्न संसदीय निर्वाचनपछि इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा सरकार गठनको समीकरण जटिल बनेको छ। नेतान्याहू पक्षधर गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने उनलाई सत्ताबाट हटाउन चाहने विपक्षी दलहरूको कुल सिट संख्या ६७ पुगेको छ।

तर, विपक्षी यहूदी दलहरूसँग मात्रै ४८ सिट रहेकाले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत पुग्दैन। यस्तो अवस्थामा १९ सिट प्राप्त गरेका अरब दलहरूको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक देखिएको छ।

यही राजनीतिक समीकरणका बीच यहूदी र अरब समुदायबीच सहकार्य गर्दै नयाँ सरकार गठन गर्नुपर्ने माग चर्किएको हो। प्रदर्शनकारीहरूले अरब दलको समर्थनमा नयाँ सरकार गठन गरी नेतान्याहूको लामो शासन अन्त्य गर्न राजनीतिक दलहरूमाथि दबाब बढाइरहेका छन्।