भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खतरनाक स्तरमा पुगेको छ। बिहान ७ बजे औसत वायु गुणस्तर सूचकांक (AQI) ३९१ मा रहेकामा, त्यसपछि बढ्दै ६२१ सम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हाल सूचकांक केही घटे पनि अझै पनि ४५० भन्दा माथि नै रहेको र स्थिति अत्यन्तै खराब रहेको बताइएको छ।
प्रदूषणको चरम अवस्थामा दिल्ली अहिले विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। यसैबीच नागरिकहरूले प्रदूषण नियन्त्रणका लागि सरकारलाई दबाब दिँदै शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन्।
वायु प्रदूषणको सूचीमा दिल्लीपछि पाकिस्तानको लाहोर दोस्रो स्थानमा छ। लाहोरमा पनि बिहान एक्यूआई ३०० भन्दा माथि पुगेको र अहिले केही सुधार आएको जनाइएको छ।
स्वास्थ्य विज्ञहरूले बढ्दो प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै नागरिकहरूलाई सकेसम्म घरभित्र बस्न र बाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।
हरेक वर्ष अक्टोबरदेखि जनवरीसम्म भारतमा तापक्रम घट्नु, धुवाँ, धुलो, तथा कृषिका अवशेष जलाउने जस्ता कारणले प्रदूषण तीव्र रूपमा बढ्ने गर्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का मापदण्डअनुसार, एक सयभन्दा कम एक्यूआई भएको वायु सास फेर्न सुरक्षित मानिन्छ। तर पाँच सय वा सोभन्दा माथि पुगेको एक्यूआई जनस्वास्थ्यका लागि तात्कालिक खतरा संकेत गर्ने स्तर हो।
