पक्राउको खवर बारे गंगा दाहालको आपत्ति आफू र परिवारविरुद्ध ‘मिडिया ट्रायल’ भएको तर्क

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालकी छोरी एवं पार्टी नेतृ गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै कडा आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै ती दुष्प्रचारलाई पूर्ण रूपमा खारेज गरेकी छन्।

आफ्नो भाइ प्रकाश दाहालको असामयिक निधनपछि पार्टीकै निर्णयअनुसार आफूले नेतृत्वलाई सहयोग गर्दै आएको उनले उल्लेख गरेकी छन्। व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नगरी आफ्नो सम्पूर्ण समय, ऊर्जा र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गरेको उनको भनाइ छ। साथै, आवश्यक ठानेमा सरकारले गर्ने जुनसुकै छानबिन वा अनुसन्धानका लागि आफूहरू पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले आम नागरिकलाई अफवाह र भ्रममा नपर्न हार्दिक अपिलसमेत गरेकी छन्।