गैरदलीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपाल पार्टीको माग

काठमाडौं, कात्तिक ११ — उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचन प्रणालीमा सुधार तथा विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका हुन्।

पार्टीले स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै जनसेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने धारणा अघि सारेको छ। स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको भनाइ छ।

ज्ञापनपत्रमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। त्यसैले गैरदलीय निर्वाचन प्रणालीको सम्भाव्यता अध्ययन गरी आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न पार्टीले निर्वाचन आयोगसँग आग्रह गरेको छ।

गैरदलीय निर्वाचन प्रणालीको प्रस्ताव दलीय व्यवस्थाको विरोध नभई स्थानीय सरकारलाई जनताप्रति थप उत्तरदायी बनाउने उद्देश्यले अघि सारिएको पार्टीले स्पष्ट पारेको छ। स्थानीय तहको प्रमुख जिम्मेवारी विकास निर्माण, जनसेवा र सार्वजनिक जवाफदेहिता भएकाले नेतृत्व चयनमा दलगत प्रभाव घटाउनुपर्ने पार्टीको तर्क छ।

त्यसैगरी, वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत विभिन्न प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ।

यसका लागि मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गर्ने व्यवस्था, सुरक्षित र विश्वसनीय मतदान विधि तथा आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार तयार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

पार्टीले नेपालको संविधानको धारा २४६ अन्तर्गत निर्वाचन आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीलाई समेत ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधारका लागि अध्ययन, सरोकारवालासँग परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणालीसम्बन्धी अध्ययन, आवश्यक कानुनी संशोधन र कार्यान्वयनको समयबद्ध कार्ययोजना तयार गर्न निर्वाचन आयोग तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर नागरिकको सेवा र स्थानीय विकासको प्रभावकारी माध्यम बनाउने तथा विदेशमा रहेका नेपालीलाई नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसर सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पार्टीले पुनः व्यक्त गरेको छ।

स्रोत: प्रेस तथा प्रचार विभाग, उज्यालो नेपाल पार्टी