जर्मनीका विभिन्न सहरमा महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन रात परेसँगै उग्र बनेपछि फ्र्याङ्कफर्टमा पसल तोडफोड र लुटपाटका घटना भएका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
अभियान समूह ‘जेन जी रिग्लेट’ (Gen Z Regelt) को आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारको आर्थिक नीति, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए। फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा समेत प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका छन्।
फ्र्याङ्कफर्टको प्रमुख व्यापारिक क्षेत्रमा प्रदर्शनकारीहरूले पसलका सिसा फुटाउनुका साथै लुटपाट गरेका छन्। प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि पटाका, ढुङ्गा, बोतल र ज्वलनशील पदार्थ प्रयोग गरी आक्रमण गरिएको बताइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुका साथै सहरका केही क्षेत्र बन्द गराएको थियो।
प्रहरीले हतियार बिक्री गर्ने एउटा पसलको झ्याल फुटाएको आरोपमा एक संदिग्धलाई पक्राउ गरेको छ। घटनास्थलबाट दुईवटा हतियारसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन्। फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए।
यसअघि फ्रान्समा पनि आर्थिक असन्तुष्टि र सरकारी नीतिविरुद्ध भएका प्रदर्शन हिंसात्मक बनेका थिए। त्यहाँका प्रदर्शनमा तीन लाख २० हजारभन्दा बढी मानिस सहभागी भएको र स्थिति नियन्त्रणमा लिन करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। पेरिसमा सवारीसाधन जलाइनुका साथै तोडफोड र लुटपाटका घटना भएका थिए।
जर्मनीको हेस राज्यका आन्तरिक मन्त्री होमान पोसेकले प्रदर्शनमा करिब १०० जना अतिवादी वामपन्थी समूहका व्यक्तिले घुसपैठ गरी हिंसा फैलाएको आरोप लगाएका छन्। उनले जर्मनीमा फ्रान्समा जस्तै परिस्थिति दोहोरिन नदिन चेतावनी दिएका छन्।
यता, ‘जेन जी रिग्लेट’ की प्रवक्ता लीना फ्रिडरिकले भने आन्दोलनको उद्देश्य शान्ति, स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा रहेको बताएकी छन्। उनले विद्यालयको बजेट कटौती, बढ्दो महँगी र अनिवार्य सैन्य सेवाको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य प्रणालीमा राज्यको जिम्मेवारी सुनिश्चित गर्न माग गरेकी छन्।
सरकारी खर्च, आर्थिक दबाब र सैन्य सेवासम्बन्धी नीतिलाई लिएर युवापुस्तामा बढ्दो असन्तुष्टिका बीच जर्मनीमा भएको यो प्रदर्शनले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा हिंसात्मक घटना कसरी थपिए र यसले आगामी दिनमा जर्मनीको सामाजिक तथा राजनीतिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।