मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राप्रपाको केन्द्रीय समितिको बैठक अनिश्चित, विवाद चुलिँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ। असार १९ मा कार्यसम्पादन समितिको बैठकले भदौको दोस्रो साता केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो। तर, तोकिएको समयमा बैठक बस्न नसकेपछि नयाँ मिति समेत सार्वजनिक गरिएको छैन।

बैठक अनिश्चित बनेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट पक्ष रुष्ट बनेको छ। महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षले अध्यक्षका निर्णय विरुद्ध चरणबद्ध वक्तव्य जारी गर्दै आएको छ। उनीहरूले पदमुक्त गर्ने निर्णय र आन्तरिक विवादबारे छलफल गर्न तत्काल बैठक बोलाउन माग गरेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने पार्टी महाधिवेशन नजिकिएकाले तोकिएको समयमा बैठक बस्न नसकेको जानकारी दिए। उनले भने, “असोज मसान्तसम्म जिल्ला अधिवेशन सक्नुपर्ने भएकाले नेताहरू स्थानीय तयारीमा व्यस्त हुनुहुन्छ। तर आवश्यकता परेमा बीचमा पनि बैठक बस्न सकिन्छ।”

यसअघि अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए। त्यस्तै, उपसभापति मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन लावतीलाई पनि पदमुक्त गरिएको थियो। यी निर्णयपछि पार्टीभित्रको असन्तुष्टि अझ बढेको छ।

राप्रपाको विवाद युवा संगठनको काठमाडौं अधिवेशनसँग पनि जोडिएको छ। साउन २८ गतेको अधिवेशनमा हुलदंगा भएपछि अध्यक्ष लिङ्देनले स्थगित गर्ने निर्देशन दिएका थिए, तर अर्को पक्षले नयाँ समिति गठन गरेको थियो। सो घटनामा दोषारोपण चलेपछि चार जनालाई कारबाही प्रक्रिया थाल्दै स्पष्टीकरण मागिएको छ।

त्यस्तै, पदमुक्त उपाध्यक्ष गिरीको गृहजिल्ला सुर्खेतमा पार्टी कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा चार नेतासहित थप कार्यकर्तालाई पनि स्पष्टीकरण सोधिएको छ।

पार्टी महाधिवेशनतर्फ अघि बढ्दै गर्दा राप्रपा दुई धारमा विभाजित देखिएको छ। असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको शैलीप्रति असहमति जनाउँदै छुट्टै बैठक बस्न थालेका छन् भने संस्थापन पक्षले अधिवेशन तयारीलाई प्राथमिकता दिएको जनाएको छ।